मन्त्रिपरिषद विस्तार : १६ मन्त्री र २ राज्यमन्त्री थपिए

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्रीहरु नियुक्त गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारीले मन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९ ) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्। राष्ट्रपति कार्यालयका अनुसार १६ मन्त्री र २ राज्य मन्त्री थप भएका हुन्।

नवनियुक्त मन्त्रीहरुमा नेपाली कांग्रेसबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा दिलेन्द्रप्रसाद बडू, रक्षा मन्त्रीमा मिनेन्द्र रिजाल, खानेपानी मन्त्रीमा उमाकान्त चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यसअघि कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिएका छन् । रामचन्द्र पौडेल समूहबाट बडू र रिजाल मन्त्री बनेका हुन् । यस्तै सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बनेका हुन्। रेग्मी देउवा निकट हुन् । यसअघि प्रधानमन्त्री देउवाले कांग्रेसको तर्फबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा कार्की र परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका थिए। यसअघि स्वास्थ्य राज्यमन्त्री भएका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ।

नेकपा माओवादी केन्द्रको तर्फबाट शिक्षा विज्ञान तथा प्रविधि देवेन्द्र पौडेल, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण शशी श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज मन्त्री बनेका छन् । यस्तै, वोधमाया कुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यसअघि ऊर्जा मन्त्रालयको पम्फा भुषाल र अर्थ मन्त्रालयको जनार्दन शर्माले जिम्मेवारी लिएका थिए ।

यस्तै, नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी विरोध खतिवडालाई दिइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्रीमा रामकुमार झाँक्री, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ नियुक्त भएका छन्।

जनता समाजवादी पार्टीको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादव, वन तथा वातावरणमन्त्री रामसहाय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव बनेका हुन्।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा संसद नै नभएका गजेन्द्र हमाल नियुक्त गरिएको छ। उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटामा मन्त्री भएको भन्दै सर्वत्र आलोचना भएको छ। साभार-अन्नपूर्ण पाेष्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here