फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट राजदूत फिर्ता गर्ने

एजेन्सी । यूके, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाउने तयारी अघि बढाएको छ।

फ्रान्सले राजदूतहरूलाई छलफलका लागि फिर्ता बोलाउन लागिएको जनाएको छ।

फ्रान्सका विदेशमन्त्रूले यसलाई “असाधारण परिस्थितिको असाधारण निर्णय” भनेका छन्।

अस्ट्रेलिया, यूके र अमेरिका संलग्न ‘ओकस’ भनिने त्रिदेशीय गठबन्धनले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन प्रविधि उपलब्ध गराउने सम्झौता गरेका हुन्।

सम्झौतासँगै अस्ट्रेलियाले पनडुब्बी खरिद गर्ने फ्रान्ससँगको अर्बौँ डलरको सम्झौता खारेज हुने जनाएपछि प्यारिस रुष्ट बनेको छ।

दक्षिणी चीनको समुद्रमा चिनियाँ प्रभाव कम गर्ने कदमको रूपमा यो सम्झौतालाई हेरिएको छ।