काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिने

काठमाडौँ — सरकारले काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने भएको छ । सिसडोल ल्यान्डफिल साइट जाने सडक बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर थुप्रिएको छ । सिसडोलका स्थानीय र महानगरबीच मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको छ ।

तर काठमाडौं महानगरले बन्चरेडाँडा सिसडोलको दिगो विकल्प भएको बताएपछि सहरी विकास मन्त्रालयले सिसडोलदेखि २ किलोमिटर दूरीको निर्माणाधीन सेनेटरी ल्यान्डफिल साइटमा फोहोर फाल्न लागेको हो ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक कुमार घिमिरेले आइतबारबाट बन्चरेडाँडामा फोहोर फाल्न मिल्ने गरी तयारी थालिएको बताए । ‘आइतबारसम्म फोहोर फाल्न मिल्ने गरी पहिलो सेल तयार हुन्छ,’ उनले भने । वर्षायाममा सिसडोलको सडक पार गर्न अप्ठ्यारो हुने उनको भनाइ छ । तर महानगरले कसरी फोहोर पुर्‍याउँछ भन्ने आफूलाई यकिन नभएको उनले बताए ।
मन्त्रालयले आइतबारदेखि बन्चरेडाँडामा फोहोर फाल्ने तयारी थाले पनि त्यसको भौतिक पूर्वाधारको काम अझै सकिएको छैन । मन्त्रालयले तयारी थालेको बताए पनि काठमाडौं महानगर वातावरण विभागका हरिकुमार श्रेष्ठले बन्चरेडाँडामा फोहोर फालिने विषयमा जानकारी नरहेको बताए । फोहोर फाल्न दिइएको खण्डमा महानगरले फोहोर संकलन गरेर बन्चरेमा विसर्जन गर्ने उनले बताए ।

सरकारले २०६२/६३ मा सिसडोलको विकल्पमा बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढाएको हो । अब साइट वरपरको सडक पिच गर्ने, आधाजसो ड्याम बाँध्ने, फोहोर प्रशोधन सेन्टर बनाउने, कर्मचारी बस्ने घरलगायतको बाँकी काम सक्न ६ महिना लाग्ने उपमहानिर्देशक घिमिरेले बताए । यसैबीच, काठमाडौं महानगरले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न एक साता लाग्ने जनाएको छ । ‘टेकु ट्रान्सफर स्टेसनदेखि सडक र घरघरमा एक महिनादेखि थुप्रिएको फोहोर सिसडोल पुर्‍याउन एक साता लाग्छ,’ महानगर वातावरण विभाग प्रमुख श्रेष्ठले भने, ‘सडकका फोहोर उठाएर सकिएपछि मात्र अन्य फोहोर सिसडोल लगिन्छ ।’
उपत्यकाका भक्तपुर नगरपालिकाबाहेक सबै स्थानीय तहका फोहोर सिसडोलमा विसर्जन गरिने उनले बताए । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here