दार्चुला घटनाबारे छानबिन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझायो

दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटना छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।

महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का धामी बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको थियो । गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले स्थलगत अनुगमन, पीडित परिवारसँग भेटघाट र प्रत्यक्षदर्शीसँग कुरा गरेर घटना छानबिन गरेका थिए । छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य थिए ।

साउन १७ मा गठन गरिएको समितिलाई सुरुमा १० दिनभित्र छानबिन प्रतिवेदन बुझाउने समय दिइएको थियो । पछि प्रतिवेदन बुझाउने समय थप गरिएको थियो । तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । ’ स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताए पनि भारतीय पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here