नुवाकोट बुद्धभुमि हाइड्रोपावरको आईपीओमा १७ हजार बदी आबेदन

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र अर्थात नुवाकोटका स्थानियलाई जारी गरेको आइपीयोमा १७ हजारभन्दा बढीले भरेका छन् ।

कम्पनीले साउन ३२ गतेदेखि संस्थापक सेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको आईपीओमा झन्डै १२ करोड रूपैयाँ बराबरको आवेदन परेको हो ।
शुक्रवार दिउँसोसम्ममा १६ हजार ९ सय ३२ जना आवेदकहरूले १२ करोड ३० लाख ७७ हजार ५ सय रूपैयाँ बराबरको १२ लाख ३० हजार ७ सय ७५ कित्ताका लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण शेयरमध्ये ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।
आईपीओ निष्काशन बन्द छिटोमा भदौ १४ गते हुनेछ भने ढिलोमा भदौ २९ गते हुनेछ । आईपीओमा ज्योति विकास बैंक, प्रभु बैंक, सिदार्थ बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
आयोजनाको ९८ प्रतिशत काम पुरा
निर्माणाधीन ५ मेगावाटको जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ । आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए । उनका अनुसार बाँध, पेनस्टक पाईपालाइन र विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न भएको छ ।
‘आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम सकिएको छ,’ उनले भने, ‘इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम पनि अन्तिम चरणमा पुगगेको छ, बाँकी भदौभित्र पूरा गरिनेछ ।’ आयोजनाको बाँकी २ प्रतिशत काम पूरा गरेर आगामी असोजभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको ढंगोलले बताए ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको त्रिशुली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । लाइनको टावर ठड्याउने काम सकिएको छ । तार तान्ने काम आधाभन्दा बढी पूरा भएको छ । आयोजना सम्पन्न गर्न १ अर्ब १९ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा सिद्धार्थ बैंकको अगुवाईमा माछापुच्छ्रे, बैंक अफ काठमाडौं, एनसीसी बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।
तादी बेसिनमा योे आयोजनासँगै थप २५ मेगावाटका ४ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here