बढ्यो मृगौला तस्करी ; दाइको मिर्गौला तस्कर खोज्दा आफ्नै गुम्यो

आफ्ना दाइको मिर्गौला बेच्ने तस्करहरूबारे सूचना खोज्ने क्रममा उनीहरूकै जालोमा परेर काभ्रेको बनेपा–५ का २८ वर्षीय युवाले आफ्नो मिर्गौलासमेत गुमाएका छन् । उनको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय बनेपाले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

दीपक श्रेष्ठको नाममा नक्कली नागरिकतालगायत कागजात बनाइदिएर उनको मिर्गौला काठमाडौंकी एक महिलालार्ई दिइएको हो । भारतको कोलकातामा मिर्गौला प्रत्यारोपण भएको थियो । पीडितको जाहेरीका आधारमा संलग्नलाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले बताए ।
प्रहरीले भुम्लुका ३५ वर्षीय राजकुमार भनिने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र पाँचखालका ३१ वर्षीय कुमार परियारलाई शुक्रबार बनेपाबाट पक्राउ गरेको हो । उनीहरूले विभिन्न प्रलोभनमा पारेर गिरोहमार्फत पीडितलाई भारतका विभिन्न अस्पताल लैजाने काम गर्दर् ैआएका थिए । पक्राउ परेकामध्ये २ जना आफैंले आफ्नो मिर्गौला बेचबिखन गरेका छन् ।
२०७२ सालको भूकम्पअघि आफ्ना दाजुले मिर्गौला बेचेको थाहा पाएपछि २८ वर्षीय ती युवाले गिरोहलाई कारबाही गराउने योजना बनाएको दाबी गरेका छन् । ‘मादक पदार्थ सेवन गरी सुतेका बेला दाइको शरीरमा लामो खत देखें । सोधखोज गर्दा मिर्गौला बेचेको भन्ने पत्ता लाग्यो,’ ती युवाले भने, ‘दाइको यस्तो घटना थाहा पाएपछि तस्करहरूलाई कारबाही गराउनुपर्छ भन्ने सोच आयो । उनीहरूको जालो त पत्ता लगाएँ तर अन्तिममा आफैं उम्किन सकिनँ ।’
सिन्धुपाल्चोकको इर्खु भन्ज्याङमा ५ वर्ष गोठालोको काम गरेपछि उनले केही समय इँट्टाभट्टामा मजदुरी गरे । त्यही बेला उनी आफ्नै चासोले तस्करको सम्पर्कमा पुगे । ‘खोज्दै जाँदा उनीहरू सम्पर्कमा आए, उनीहरूको सबै कुरा बुझेर कारबाही गराउँछु भन्ने सोचले उनीहरूले भनेको मान्दै गएँ,’ ती युवाले भने, ‘तर पछि उनीहरूले धम्की पनि दिए, पैसाको लोभ पनि देखाए । पाँच लाख रुपैयाँ आउँछ भनेपछि मेरो मनमा लोभ पनि पलायो ।’ गर्भवती श्रीमती छोडेर भारत गएका उनको अवस्थाबारे श्रीमतीलाई समेत जानकारी थिएन । उनका छोरा अहिले ३ महिनाका भइसके ।
भक्तपुरको एक निजी ल्याबमा उनको रक्त समूह परीक्षण गरिएको थियो । परीक्षणपछि कलंकीबाट गाडी चढाएर उनलाई सीमा कटाएका थिए । ‘खासमा किड्नी बेच्न मलाई मन थिएन, त्यसैले भाग्न पनि कोसिस गरें तर त्यो अन्जान सहरमा उनीहरूको गिरोहको चंगुलबाट कसरी उम्कने ?,’ उनले भने । विवादबीच चार दिन भोकै परेको पनि उनले सुनाए ।
कोलकातास्थित एएमआरआई अस्पतालमा शल्यक्रिया भएपछि उनलाई ६ दिन अस्पताल राखियो । त्यसपछि ३ महिना उतै राखियो । गाउँ फर्किएपछि उनले प्रहरीलाई उजुरी गरेका हुन्, यद्यपि गाउँ फर्किएको केही समयमा सुरेश र कुमारले उनलाई दुई किस्तामा गरी ५ लाख दिएका थिए । ‘दाजुको मिर्गौला बेचबिखन गर्ने पत्ता लगाउन खोज्दा म पनि फसें । अरू कोही फस्न नपरून् भनेर मैले उजुरी गरेको हुँ,’ उनले भने ।
२६ वर्षदेखि निरन्तर
पाँचखाल–६ होक्सेका सापकोटा थरका एक युवाले मिर्गौला बेचेको २६ वर्षभन्दा बढी भयो । २०५२ सालतिर बिरामी कुर्न भनेर तामाङ थरका अर्का युवासहित भारतको मद्रास पुर्‍याएर उनको मिर्गौला निकालिएको थियो । सापकोटा र तामाङ नै होक्सेमा पहिलो मिर्गौला बेचबिखन गर्नेमध्ये मानिन्छन् । त्यसयता सोही गाउँबाट ६० भन्दा धेरैले मिर्गौला बेचिसकेका छन् र यो क्रम निरन्तर छ । काभ्रेमा मात्रै करिब २ सय जनाले मिर्गौला बेचेको अनुमान गरिएको छ ।
द एसिया फाउन्डेसन र विश्व शिक्षाको सहयोगमा जनअधिकार संरक्षण मञ्च (पीपीआर) ले सन् २०१४ मा गरेको अनुसन्धानले १ सय २० देखि १ सय ७८ जनासम्मले बेचबिखन गरेको भेटिएको थियो । संस्थाले तत्कालीन होक्से, अनेकोट, पाँचखाल, बालुवा, फूलबारी, ज्याम्दी, जैसीथोक, खरेलथोक, साठीघर, भगवतीलगायत ९ गाविसका २ सय ४२ जनामा अनुसन्धान गरेको थियो । तीमध्ये ३६ जनाले मिर्गौला बेचबिखन गरेका थिए । गरिबी, अशिक्षा, लहैलहै, देखासिकी, महत्त्वाकांक्षालगायत कारणले मिर्गौला बेचबिखन गरेको पाइएको अध्ययनमा संलग्न नेपाल बार एसोसिएसन काभ्रेकी अध्यक्ष कृष्णप्यारी नकर्मीले बताइन् । प्रहरी र यो क्षेत्रमा कार्यरत संघसंस्थाको सक्रियतामा यसबीचमा १० जना पक्राउ परे पनि ३ जनामात्रै हिरासतमा छन् । अरू धरौटीमा रिहा भएका छन् । प्रहरीको किटानी जाहेरी कुरेर बस्ने प्रवृत्ति, सरकारी निकायको कम चासो, परियोजनाको समयमा मात्रै सक्रिय हुने गैरसरकारी संस्था र बेच्नेहरूको असहयोगलगायत कारण यो पूर्ण रूपमा रोकिन सकेको छैन ।
विभिन्न दलाल तथा आफन्तमार्फत गाउँलेलाई फकाएपछि काठमाडौंका विभिन्न अस्पतालमा लगेर उनीहरूको रगत समूह जाँच गर्छन् । एउटाले पनि काम गर्ने, फेरि अर्को पलाउने, ठूलो आर्थिक लाभ हुने प्रलोभन देखाउने गरिएको छ । नजिकको आफन्तमा मात्रै दिन मिल्ने भएकाले नक्कली कागजात (नागरिकतासमेत) का आधारमा लाने गरिएको छ । ‘बेच्नेको मान्छेसँग मिल्ने थर राखेर नयाँ नागरिकता बनाउने गरिन्छ,’ नकर्मी भन्छन्, ‘बिहेपछि महिलाको थर परिवर्तन गर्ने प्रचलनले महिलालाई लैजान अझ सजिलो हुने रहेछ । श्रीमान्–श्रीमतीको नाता प्रमाणित गरेपछि पुग्ने रहेछ ।’
सबैको ध्यान होक्सेमा, दलालको अन्यत्र
मिर्गौला बेचबिखन सुरुवात भएको मानिने होक्सेमा सबैको ध्यान छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्था, सञ्चारमाध्यम, प्रहरी र प्रशासनको नजर होक्सेमा नै केन्द्रित छ । मिर्गौला बेचबिखन भएको भन्दै आफ्नो ठाउँको बदनाम भएकोमा स्थानीय आक्रोशित पनि छन् । तर बेचबिखन अहिले होक्सेमा मात्रै केन्द्रित छैन । काभ्रेमा बेचबिखन गर्नेको संख्या करिब २ सय नाघिसकेको छ । अधिकारकर्मी, प्रहरी, सञ्चारकर्मी आदिले बेचबिखन रोकिएको भन्दै सक्रियता घटाए पनि जिल्लाका विभिन्न स्थानबाट बेचबिखन भइरहेको तथ्य फेला परेका छन् । यसअघि होक्सेका छिमेकी पाँचखाल, बालुवा, ज्याम्दी, जैसीथोक, खरेलथोक, कोसीदेखा, साठीघर भगवती, फूलबारीलगायत क्षेत्रबाट पनि बेचबिखन भएको अध्ययनले देखाएको थियो । अधिवक्ता कृष्णप्यारी नकर्मी जिल्लाका धेरै स्थानमा मिर्गौला बेचबिखन देखिएकाले सरोकारवाला निकायले चासो दिनुपर्ने बताइन् ।
सामाजिक संघसंस्थाको निरन्तरको प्रयास र प्रहरीको सक्रियताका कारण प्रमुख तस्कर समातिएका पनि थिए । तत्कालीन प्रहरी नायब निरीक्षक (सई) दीपेन्द्र चन्दको सक्रियतामा समातिएका १० जनामध्ये ३ जनालाई जेल सजाय भएको थियो । २०५० सालदेखि नै मिर्गौला तस्करीमा संलग्न हुँदै आएका होक्सेका प्रेम बजगाईंसहित १० जना पक्राउ परेका थिए । पाँचखाल प्रहरीले उनलाई काठमाडौंस्थित डेराबाट पक्राउ गरेको थियो । एक महिलाले मिर्गौला बेचेको सूचना पाएपछि चन्दको नेतृत्वमा अनुसन्धान थालेको थियो । ती किशोरीले पनौती–९ का मनोज राउतलाई मिर्गौला बेचेकी थिइन् । राउतले प्रेमकै सहयोगमा नक्कली नागरिकता बनाएर ती किशोरीको मिगौला बेचिदिइएका थिए । जिल्ला अदालतले एक दम्पतीसहित ३ जनालाई ३ वर्षको जेल सजाय तोकेको थियो । नुवाकोट मदानपुरका ३८ वर्षीय कृष्ण दर्जी, उनकी श्रीमती मीना र होक्सेका बजगाईंलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार सजाय भएको थियो । होक्सेमा मिर्गौला तस्करी बजगार्ईंले सुरु गरेको मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here