काठमाडौँ । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
आयोगले सिराहाको सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत राजिवकुमार झा र सुखीपुर नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत चन्द्रेश्वरप्रसाद यादवलाई मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो । नेपालको संविधानको धारा २४७ मा ‘संविधान बमोजिम निर्वाचन आयोगलाई आफ्नो काम पूरा गर्न आवश्यक पर्ने कर्मचारी र अन्य सहयोग नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले उपलब्ध गराउनेछ’ भन्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ७ र ८ मा आयोगले निर्वाचनको कामको लागि स्थानीय सरकारको सहयोग लिन सक्ने र उपलब्ध गराउनु स्थानीय तहको कर्तव्य हुने भनी उल्लेख भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० को उपदफा (१) मा ‘आयोगले निर्वाचन सञ्चालन गर्ने सम्बन्धमा कुनै निकाय वा पदाधिकारीलाई आवश्यक निर्देशन दिन सक्नेछ’ भन्ने व्यवस्था गरिएको छ ।
सोही व्यवस्था बमोजिम मतदाता शिक्षा कार्यक्रम सञ्चालन नभएको भए यथा शिघ्र कार्यक्रम सञ्चालन गरी पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगमा जानकारी गराउन समेत आयोगले निर्देशन दिएको हो ।