असोज – ११ । धादिङको राजमार्ग क्षेत्र, धुनिबेसी नगरपालिका – ६ धार्केबाट प्रशारण भइरहेको रेडियो राजमार्ग ९२.१ मेगाहर्ज १२ वर्षमा प्रवेश गरेको छ । २०६८ साल असोज ११ गतेको घटस्थापनाको दिन देखि परिक्षण प्रशारण थालेको रेडियो आज मँगलबार देखि ११ वर्ष पूरा गरेर १२ वर्षमा प्रवेश गरेको हो ।
राजमार्ग सामुदायिक सञ्चार केन्द्रले नेपालमै पहिलोपटक राजमार्गका यात्रु, चालक र अन्य सडक प्रयोगकर्ताको चासो र सरोकारका विषय समेटिने गरी प्रसारण सुरु गरेको रडियो राजमार्ग बिहान ५ बजे देखि रातको १० बजे सम्म १७ घण्टा प्रसारण हुँदै आएको रेडियोका स्टेशन म्यानेजर आशिष ठकुरीले बताउनुभयो ।
धादिङको धुनिबेशी ६ धार्केमा स्टेशन र गल्छि गाउँपालिकाको रानीमालामा प्रसारण केन्द्र रहेको रेडियोले सडक र सडकसँग सम्बन्धित विषयवस्तु सहित अन्य विषयमा पनि केन्द्रित हुँदै आएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको अनुमतिमा अमेरिकाको नटेल कम्पनीको ट्रान्समिटर मार्फत नेपालमै पहिलोपल्ट रेडियो डाटा सिस्टम (आरडिएस) प्रविधिको प्रयोग गरेको रेडियोले समाचार पोर्टल र मोबाईल एप्स मार्फत पनि सुसुचित गरिरहेको छ ।
रेडियो राजमार्गले रसुवाको रेडियो लाङटाङ र नुवाकोटमा रहेको नुवाकोट एफएम सँग सहकार्य गरी समाचार तथा कार्यक्रमहरु उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । कार्यक्रम उत्पादनमा जिल्लाका रेडियोहरु सँग पनि सहकार्य गर्दै आईरहेको छ ।
रेडियो राजमार्ग धादिङ लगायत नुवाकोट, रसुवा, मकवानपुर, चितवन र गोरखा लगायतका जिल्लामा प्रत्यक्ष, अनलाईन र मोबाईल एप्स मार्फत विश्वभर सुन्न सकिने व्यवस्था रहेको छ ।
साभार : रेडियो राजमार्ग फेसबुक पेज