मंसिर महिनाका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा पाइन्छ सबैभन्दा धेरै ब्याज ?

आर्थिक खबर । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदरअनुसार अधिकांश बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले ब्याजदर घटाएका छन्।

मंसिर महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये १४ वटाले ब्याजदर यथावत् राखेका छन् भने ६ वटा बैंकले घटाएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

व्यक्तिगत मुद्दती निक्षेपमा सानिमा बैंकको सबैभन्दा धेरै ब्याज

व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा धेरै ब्याज दिने बैंकमा सानिमा बैंक रहेको छ। सानिमा बैंकले अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ।

त्यस्तै, एनएमबि बैंक र प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशतसम्म ब्याज दिने भएका छन्।

सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको ३.५ प्रतिशत रहेको छ। कुमारी बैंकले ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले ३.६५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

संस्थागत निक्षेपमा पनि सानिमा बैंक अगाडि

संस्थागत मुद्दती निक्षेपतर्फ पनि सानिमा बैंकले सबैभन्दा धेरै ३.५१ प्रतिशत ब्याजदर तोकेको छ। नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबि बैंकले ३.२५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

त्यस्तै, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, सिटिजन्स, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र प्रभु बैंकले न्यूनतम २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

६ बैंकले घटाए ब्याजदर

मंसिर महिनाका लागि माछापुच्छ्रे, कृषि विकास, एनएमबि, लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्।

एक वर्षे मुद्दती निक्षेपमा भने अधिकांश बैंकको ब्याजदर २.७५ प्रतिशत कायम रहेको छ।

यससँगै मंसिर महिनामा मुद्दती निक्षेप राख्न चाहने ग्राहकले विभिन्न बैंकको ब्याजदर तुलना गरेर आफूलाई उपयुक्त बैंक छनोट गर्न सक्नेछन्।

#HorizonKhabar #BankInterestRate #Economy #Nepal

स्रोत: रातोपाटी