गोरखाको धार्चेमा भीषण सुक्खा पहिरो, बुढीगण्डकी नदी थुनिने जोखिम तत्काललाई टर्‍यो

गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो गएको छ।

स्थानीयका अनुसार शनिबार बिहान करिब ९ बजेतिर गएको पहिरो निकै ठूलो रहेको छ। बुढीगण्डकी नदीभन्दा माथिको जंगल क्षेत्रमा पहिरो खसेको हो।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नेत्रप्रसाद शर्माका अनुसार पहिरो गएको क्षेत्रमा बस्ती नरहेकाले मानवीय तथा भौतिक क्षति भएको छैन।

पहिरो तल रहेको बुढीगण्डकी नदीसम्म नपुगेकाले तत्काल नदी थुनिने अवस्था नरहेको उनले जानकारी दिएका छन्। यद्यपि सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ।

यसैबीच, यारुबगरस्थित क्यान्टिलिभर पुलमाथिबाट ठूलो पहिरो खसेको भन्दै स्थानीय राजकुमार भट्टले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन्। पहिरोपछि मनास्लु पदयात्रामा रहेका पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रशासनले घटनाको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ।

#HorizonKhabar #Gorkha #Dharchhe #BudhiGandaki #Manaslu