लक्ष्मीपूजामा विद्युत् माग १ हजार ७ सय मेगावाट पुग्ने अनुमान, आन्तरिक उत्पादनले नै धान्ने

काठमाडौं । यस वर्षको लक्ष्मीपूजाका दिन नेपालमा विद्युत्को अधिकतम माग करिब १ हजार ७ सय मेगावाट पुग्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले उक्त माग आन्तरिक उत्पादनबाटै धान्न सकिने जनाएको छ।

प्राधिकरणका अनुसार हाल नेपालमा करिब २ हजार ५ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। अनुमानित मागभन्दा करिब ८ सय मेगावाट बढी उत्पादन हुने भएकाले लक्ष्मीपूजाका दिन विद्युत् आपूर्तिमा समस्या नआउने अपेक्षा गरिएको छ।

तिहार तथा त्यसपछि आउने छठ पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित बनाउन विशेष तयारी गरेको जनाएको छ। पर्वका समयमा विद्युत् आपूर्ति नियमित र भरपर्दो बनाउन आवश्यक निर्देशनसमेत दिइसकिएको छ।

विद्युत् प्रणालीमा कुनै प्राविधिक समस्या आए तत्काल समाधान गर्न प्राविधिक टोलीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवालाई समेत प्रभावकारी बनाइने बताइएको छ।

यसैबीच, प्राधिकरणले तिहारमा विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका तार, उपकरण तथा अन्य विद्युतीय सामग्रीको अवस्था जाँच गर्न र गुणस्तरहीन सामग्री प्रयोग नगर्न पनि सुझाव दिएको छ।