काठमाडौं । भोटेकोसी बाढीबाट क्षतिग्रस्त सरकारी तथा निजी संरचना पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा ८ देखि ९ खर्ब रुपैयाँसम्म खर्च आवश्यक पर्ने अनुमान गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गठन गरेको विस्तृत क्षति मूल्यांकन समितिले बाढीबाट भएको क्षति तथा तत्काल र दीर्घकालीन पुनर्निर्माणको आवश्यकता अध्ययन गरिरहेको छ। समितिले सम्बन्धित सरकारी निकायसँग छलफल गरी विस्तृत विवरण तयार पार्ने काम अघि बढाएको छ।
प्राधिकरणको प्रारम्भिक विवरणअनुसार बाढीबाट निजी तथा सरकारी पूर्वाधारमा मात्रै करिब ४ खर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ। तत्काल आवश्यक पुनर्निर्माणका लागि ८ देखि ९ खर्ब रुपैयाँसम्म लाग्न सक्ने अनुमान गरिएको हो। दीर्घकालीन पुनर्निर्माणको लागत भने अझ बढ्न सक्ने देखिएको छ।
सडक तथा पुल पुनर्निर्माणमा मात्रै करिब ५० अर्ब रुपैयाँ आवश्यक पर्ने सडक विभागले जनाएको छ। बाढीका कारण ४२ वटा पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुगेको प्रारम्भिक विवरण छ।
त्यस्तै, रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा ७ हजार ५७० सरकारी तथा निजी भवनमा क्षति पुगेको बताइएको छ। ती भवन पुनर्निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बाढीले खानेपानी पूर्वाधारमा पनि ठूलो असर पारेको छ। चार जिल्लाका ५५ वटा खानेपानी आयोजना क्षतिग्रस्त हुँदा करिब ६ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
समितिले हालको क्षति, तत्काल पुनर्निर्माण र दीर्घकालीन पुनर्निर्माण गरी तीन चरणमा अध्ययन गरिरहेको छ। विस्तृत मूल्यांकनपछि पुनर्निर्माणका लागि आवश्यक बजेट, स्रोत व्यवस्थापन र कार्ययोजनाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।






