फेरि नेपालतर्फ नजिकियो मनसुनको न्यूनचापीय रेखा, धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर सरेको छ। यससँगै मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागतर्फ नजिकिएको महाशाखाले जनाएको छ।

रेखा नेपालतर्फ नजिकिँदा वर्षाको गतिविधि बढ्ने मौसमविद्हरूले बताएका छन्। पूर्वी नेपालतर्फ भने मनसुनी रेखा सरदर स्थान आसपासमै रहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा समेत मध्यम वर्षाको सम्भावना छ।

पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ। बागमती र गण्डकीका पहाडी तथा तराई भूभाग र कोसीको पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा पनि थप वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा गएरातिदेखि पानी पर्ने र रोकिने क्रम जारी छ। मौसमविद् बिनु महर्जनका अनुसार केही समय वर्षा रोकिए पनि दिउँसो पुनः पानी पर्ने सम्भावना छ।

उनका अनुसार आज काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने सम्भावना रहेको छ।

वर्षाको मात्रा कसरी छुट्याइन्छ?

२४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरभन्दा कम भए मध्यम र ५० देखि १०० मिलिमिटरभन्दा कम भए भारी वर्षा मानिन्छ। १०० देखि २०० मिलिमिटरभन्दा कमलाई धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षालाई अति भारी वर्षा भनिन्छ।

मौसम पूर्वानुमानमा प्रयोग हुने ‘एक–दुई स्थान’, ‘थोरै स्थान’, ‘केही स्थान’, ‘धेरै स्थान’ र ‘अधिकांश स्थान’ले वर्षा हुने सम्भावित भूभागको प्रतिशत जनाउँछन्। एक–दुई स्थानमा १० प्रतिशतभन्दा कम, थोरै स्थानमा १०–३० प्रतिशत, केही स्थानमा ३०–५० प्रतिशत, धेरै स्थानमा ५०–८० प्रतिशत र अधिकांश स्थानमा ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षाको सम्भावना बुझिन्छ।