काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा देशभर पाँच हजारभन्दा बढी विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि भदौ ५ गतेसम्म भएका ५ हजार १४ वटा विपद्का घटनामा २५० जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार विपद्का घटनामा ८ जना बेपत्ता भएका छन् भने १ हजार ६०७ जना घाइते भएका छन्। यस अवधिमा ६ हजार २७२ परिवार प्रभावित भएका छन्।
चार महिनाको अवधिमा सबैभन्दा धेरै आगलागीका १ हजार १३६ घटना भएका छन्। त्यस्तै पहिरो १ हजार ११, सर्पदंश १ हजार १०, हावाहुरी ४८०, चट्याङ २४५, बाढी २७३ र भारी वर्षा ३२० वटा घटना भएका छन्।
यस्तै, जनावरको आक्रमणका २७२, वन डढेलोका १९१, लेक लाग्ने ५९, असिनाका ४, भूकम्पका ४ तथा हिमपहिरोका २ घटना भएका छन्। डुङ्गा पल्टिने र विस्फोटनका एक–एक घटना पनि अभिलेखमा छन्।
भदौ ४ देखि ५ गते बिहान ८ बजेसम्म मात्रै देशभर ३३ वटा विपद्का घटना भएको प्राधिकरणले जनाएको छ। उक्त अवधिमा एक जनाको मृत्यु, एक जना बेपत्ता र २३ जना घाइते भएका छन् भने १४५ जना प्रभावित भएका छन्।
सो अवधिमा विपद्का कारण करिब ९ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको तथा दुई स्थानमा सडक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।






