आज आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती

काठमाडौं । नेपाली भाषा तथा साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइँदै छ।

वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्त आचार्यले संस्कृतमा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी जनसाधारणसम्म पुर्‍याएका कारण नेपाली साहित्यका आदिकविका रूपमा सम्मानित छन्।

रामायणका अतिरिक्त उनले वधूशिक्षा, प्रश्नोत्तर, भक्तमाला लगायतका कृतिमार्फत नेपाली भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। उनका सिर्जनाले नेपाली भाषाको विस्तार, राष्ट्रिय एकता र सांस्कृतिक चेतनालाई सुदृढ बनाउन उल्लेखनीय भूमिका खेलेको मानिन्छ।

भानु जयन्तीका अवसरमा देशका विभिन्न स्थानमा साहित्यिक गोष्ठी, कविता वाचन, प्रभातफेरी तथा भानुभक्तको व्यक्तित्व र कृतित्वमाथि केन्द्रित कार्यक्रमहरू आयोजना भइरहेका छन्। विदेशमा रहेका नेपाली समुदायले पनि विभिन्न कार्यक्रममार्फत आदिकवि भानुभक्तलाई स्मरण गरिरहेका छन्।

नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यले पुर्‍याएको योगदानलाई सम्मान गर्दै प्रत्येक वर्ष असार २९ गते भानु जयन्ती मनाउने परम्परा रहँदै आएको छ।