धादिङ । मनसुन सक्रिय भएसँगै धादिङ जिल्लाका प्रमुख राजमार्ग क्षेत्रमा हुन सक्ने बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले व्यापक पूर्वतयारी गरेको छ। समितिले जिल्लाभित्रका २१ स्थानलाई उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गर्दै १८ स्थानमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ।
त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा वर्षेनी दोहोरिने पहिरो तथा सडक अवरोधका घटनालाई मध्यनजर गर्दै यात्रु र स्थानीय नागरिकको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको हो। सडक अवरुद्ध हुँदा यात्रुहरूलाई सुरक्षित रूपमा राख्न, आवश्यक राहत तथा प्राथमिक सेवा उपलब्ध गराउन होल्डिङ सेन्टर सञ्चालन गरिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको समितिको बैठकले मनसुन अवधिभर उद्धार, राहत, समन्वय तथा द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित कार्यालयलाई आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशनसमेत दिइएको छ।
समितिका अनुसार गजुरी, गल्छी, धुनीबेँसी तथा बेनीघाट रोराङ गाउँपालिकाका विभिन्न स्थान पहिरो र सडक अवरोधको दृष्टिले सबैभन्दा बढी जोखिमयुक्त मानिएका छन्। यस्तै, राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र नपर्ने गरी जिल्लाका विभिन्न स्थानमा १८ वटा होल्डिङ सेन्टर सञ्चालन गरिनेछ।
मनसुनका बेला विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य तथा यातायातजस्ता अत्यावश्यक सेवा निरन्तर सञ्चालनमा राख्न सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ। साथै खाद्यान्न, इन्धन र दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन व्यवसायीहरूसँग पनि समन्वय गरिने जनाइएको छ।
विपद्सम्बन्धी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउन टोल–फ्री नम्बर ११४९ र नेपाल प्रहरीको हटलाइन १०० को व्यापक प्रचारप्रसार गरिने निर्णय पनि बैठकले गरेको छ।
जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले मनसुन अवधिभर सबै निकायबीच समन्वय, द्रुत सूचना प्रवाह तथा प्रभावकारी उद्धार कार्यलाई प्राथमिकतामा राख्दै नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्ने जनाएको छ।






