अन्तर्राष्ट्रिय खबर । अमेरिकी गुप्तचर निकायहरूले तयार पारेको नयाँ गोप्य प्रतिवेदनले युद्धविरामको अवधिलाई उपयोग गर्दै इरानले आफ्नो सैन्य शक्ति अपेक्षाभन्दा धेरै छिटो पुनर्स्थापना गरिरहेको खुलासा गरेको छ। विशेषगरी ड्रोन उत्पादन, मिसाइल प्रणाली र सैन्य पूर्वाधार पुनः सञ्चालनमा ल्याउने काम तीव्र गतिमा अघि बढिरहेको जनाइएको छ।
अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार अमेरिका र इजरायलसँगको द्वन्द्वपछि लागू भएको युद्धविरामको समयमा इरानले नष्ट भएका सैन्य संरचना पुनर्निर्माण गर्दै रक्षा उद्योगलाई पुनः सक्रिय बनाएको हो। अमेरिकी गुप्तचर अधिकारीहरूले इरानले उनीहरूले अनुमान गरेको समयसीमाभन्दा निकै छिटो पुनर्स्थापना गरिरहेको बताएका छन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा सञ्चालन गरेको “अपरेशन एपिक फ्युरी” मार्फत इरानका सैन्य उद्योग र मिसाइल संरचनामा ठूलो क्षति पुगेको दाबी गरिएको थियो। तर पछिल्लो प्रतिवेदनले इरानले केही महिनामै आफ्नो पूर्वस्थितिको सैन्य क्षमता फर्काउन सक्ने संकेत दिएको छ।
भू-उपग्रहीय तस्बिर र गुप्तचर सूचनाअनुसार इरानले स्ट्रेट अफ हर्मुज आसपासका अधिकांश मिसाइल साइटहरू पुनः सञ्चालनमा ल्याइसकेको छ। साथै, हजारौँ ड्रोनमध्ये करिब आधा अझै सक्रिय अवस्थामा रहेको तथा धेरै मिसाइल लाञ्चर पुनः तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ।
अमेरिकी अधिकारीहरूले इरानलाई चीन र रुसबाट प्राविधिक तथा सामग्री सहयोग मिलिरहेको दाबी गरेका छन्। विशेषगरी मिसाइल उत्पादनमा प्रयोग हुने इलेक्ट्रोनिक तथा मेकानिकल उपकरण आपूर्ति भइरहेको आरोप लगाइएको छ। चीनले भने यस्तो दाबी अस्वीकार गरेको छ।
यो प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको इरानको सैन्य शक्ति पूर्ण रूपमा ध्वस्त भएको दाबीमाथि प्रश्न उठेको छ। विश्लेषकहरूका अनुसार इरानको तीव्र पुनरुत्थानले मध्यपूर्वमा फेरि तनाव बढ्न सक्ने संकेत दिएको छ।
हाल पाकिस्तान, कतार, साउदी अरेबिया, टर्की र इजिप्टलगायत देशहरूले अमेरिका–इरानबीच स्थायी शान्ति स्थापना गर्न कूटनीतिक पहल गरिरहेका छन्। तर, इरानको पर्दापछाडिको सैन्य तयारीले भविष्यमा पुनः ठूलो द्वन्द्वको सम्भावना बढाएको विश्लेषण गरिएको छ।






