आज कोशी, बागमती, गण्डकीसहित मधेश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी तथा कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी तथा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने तथा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने जनाइएको छ।

मौसमविद्ले वर्षा, चट्याङ र हावाहुरीको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।