ट्रम्पको चीन भ्रमण सकिनासाथ पुटिनको बेइजिङ यात्रा घोषणा

अन्तर्राष्ट्रिय खबर । रुसका राष्ट्रपति Vladimir Putin आगामी मे १९ र २० मा दुईदिने चीन भ्रमणमा जाने भएका छन्। क्रेमलिनले शनिबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पुटिनले चीनका राष्ट्रपति Xi Jinping सँग भेटवार्ता गर्ने जानकारी दिएको हो।

क्रेमलिनका अनुसार भ्रमणका क्रममा दुवै नेताबीच अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दामा विस्तृत छलफल हुनेछ। साथै वार्तापछि संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि तय गरिएको छ।

यो घोषणा अमेरिकाका राष्ट्रपति Donald Trump को चीन भ्रमण लगत्तै आएको हो। ट्रम्पले बुधबारदेखि शुक्रबारसम्म चीन भ्रमण गर्दै राष्ट्रपति सीसँग पटकपटक भेटवार्ता गरेका थिए।

ट्रम्प स्वदेश फर्किएको केही समयमै पुटिनको चीन भ्रमण घोषणा भएपछि विश्व राजनीतिमा अमेरिका–चीन–रुस सम्बन्धलाई लिएर नयाँ चासो बढेको छ।