लेबनानमा इजरायली आक्रमण तीव्र, २४ घण्टामा ५१ जनाको मृत्यु

अन्तर्राष्ट्रिय खबर । लेबनानमा इजरायली आक्रमण थप तीव्र बनेको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका हवाई आक्रमणमा स्वास्थ्यकर्मीसहित ५१ जनाको ज्यान गएको छ।
स्वास्थ्य मन्त्रालयले बिन्त जुबेल जिल्लाका कलाविया र तिबनिन क्षेत्रमा रहेका स्वास्थ्य केन्द्रहरूमा आक्रमण भएको जनाएको छ। आक्रमणका क्रममा प्यारामेडिक तथा स्वास्थ्यकर्मी समेत प्रभावित भएका छन्।
युद्धविराम जारी रहेको दाबी गरिए पनि लेबनानमा हिंसा रोकिएको छैन। मार्च २ देखि सुरु भएको नयाँ सैन्य अभियानयता देशभर हजारौँ मानिस प्रभावित भएका छन् भने ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार हालसम्म भएका धेरै आक्रमणमा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी समेत मारिएका र सयौँ घाइते भएका छन्। दक्षिण लेबनानमा उद्धार तथा राहतमा खटिएका कर्मचारीहरूले निरन्तर जोखिमबीच काम गरिरहेको बताएका छन्।
आक्रमणका कारण लाखौँ नागरिक घर छाड्न बाध्य भएका छन् भने युद्धविराम लागू भएपछिसमेत तनाव र हिंसात्मक गतिविधि कम हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।