काठमाडौं । बिहीबार बिहानदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी वाग्मती र कोसी प्रदेशका केही क्षेत्रमा हल्का पानी परेको हो।
विभागले हाल देशका पहाडी तथा हिमाली भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ। दिउँसो कोसी र मधेस प्रदेशका केही स्थानसँगै अन्य पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।
यस्तै, रातिको समयमा पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको विभागले जनाएको छ। अन्य भूभागका थोरै स्थानमा समेत पानी पर्न सक्ने पूर्वानुमान छ।
मौसमविद्ले चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।






