काठमाडौँ, बैशाख १४ — माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड ले सञ्चालन गर्ने उक्त परीक्षामा यस वर्ष कुल ४ लाख १८ हजार ८ सय विद्यार्थी सहभागी भएका छन्।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। यस वर्ष २०७९ यताका विद्यार्थीले आंशिक परीक्षा दिने व्यवस्था गरिएको छ। साथै, जापानस्थित एभरेस्ट स्कुलबाट ३६ जना विद्यार्थीले पनि परीक्षा दिइरहेका छन्।
देशभर परीक्षाका लागि १ हजार ४२१ वटा केन्द्र निर्धारण गरिएको छ। परीक्षा यही बैशाख २७ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ।
यस वर्ष परीक्षार्थीको संख्या गत वर्षको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। गत वर्ष ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएकोमा यस वर्ष करिब ९२ हजार ७२५ ले कमी आएको हो। बोर्डका अनुसार पछिल्लो समय नतिजामा सुधार आएसँगै आंशिक परीक्षार्थी घट्दा समग्र संख्या कम देखिएको हो।
गत वर्ष कक्षा १२ को परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।






