खाडी क्षेत्रमा संकट गहिरिँदै: ऊर्जा केन्द्रमै आक्रमण, बस्नै नसकिने खतरा

अन्तर्राष्ट्रिय खबर । पश्चिम एसियामा जारी युद्धले अब झन् गम्भीर मोड लिएको छ। पहिले तेल प्रशोधन केन्द्रमा केन्द्रित आक्रमणहरू अहिले ऊर्जा र डीसालिनेसन (समुद्री पानी प्रशोधन) केन्द्रतर्फ सरेका छन्।
इरानले शुक्रबार कुवेतका ऊर्जा तथा पानी प्रशोधन केन्द्रमा आक्रमण गर्दा केही संरचनामा क्षति पुगेको छ। यस घटनाले खाडी क्षेत्रको दैनिकीमै संकट निम्त्याउने चिन्ता बढेको छ।
खाडीका देशहरू अत्यधिक रूपमा डीसालिनेसन प्लान्टमा निर्भर छन्, जहाँबाट करिब ९०% खानेपानी आपूर्ति हुन्छ। यस्ता संरचनामा लगातार आक्रमण भएमा यस क्षेत्र छिट्टै बस्नै नसकिने अवस्थामा पुग्न सक्ने विज्ञहरूको चेतावनी छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप आक्रमण हुन सक्ने संकेत दिएका छन्, जसले क्षेत्रीय तनाव झन् चुलिएको छ।
लामो समयसम्म द्वन्द्वबाट टाढा रहँदै समृद्ध बनेका खाडी देशहरू अहिले युद्धको प्रत्यक्ष प्रभावमा पर्न थालेका छन्।