आफ्ना नागरिकलाई बंकरमा छिर्न इजरायलको निर्देशन

अन्तर्राष्ट्रिय खबर । इरानसँगको बढ्दो तनावका बीच इजरायलले आफ्ना नागरिकलाई तत्काल सुरक्षित बंकर तथा आश्रयस्थलमा जान निर्देशन दिएको छ।

इरानले शक्तिशाली आक्रमण सुरु गरेपछि इजरायलले आफ्नो वायु रक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इजरायली सेना (IDF) ले नागरिकलाई सतर्क रहन र नजिकैका सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
मानवअधिकारवादी संस्था ह्रानाका अनुसार पछिल्लो २४ घण्टामा इरानमा ७०१ पटक आक्रमण भएको छ, जुन हालसम्मकै उच्च संख्या मानिएको छ। तीमध्ये करिब ७४ प्रतिशत आक्रमण राजधानी तेहरानमै केन्द्रित छन्।
यसैबीच, अमेरिकी रक्षा मन्त्रालय (Pentagon) ले इरानमा सम्भावित स्थलगत कारबाहीका लागि विशेष दस्ता पठाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

खाडी क्षेत्रमा पनि बढ्दो तनाव :
साउदी अरबले रियादतर्फ आउँदै गरेका ३ ड्रोन र १ ब्यालिस्टिक मिसाइल खसालेको जनाएको छ।
यूएईको अबु धाबीमा मिसाइल खसाल्ने क्रममा ५ जना घाइते भएका छन्।
कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको राडार प्रणालीमा १५ वटा ड्रोन आक्रमणबाट क्षति पुगेको छ।

हुथी समूहको आक्रमण:
यमनस्थित हुथी विद्रोही समूहले इजरायलको दक्षिणी क्षेत्रमा क्रुज मिसाइल र ड्रोनमार्फत दोस्रो चरणको आक्रमण गरेको पुष्टि गरेको छ।

मध्यपूर्व क्षेत्रमा युद्धको अवस्था थप जटिल बन्दै गएको छ। इजरायल–इरानबीचको द्वन्द्वले खाडी क्षेत्रका अन्य देशहरूमा समेत असर पार्दै गएको देखिन्छ, जसले विश्व सुरक्षामा गम्भीर चुनौती खडा गरिरहेको छ।