अन्तर्राष्ट्रिय खबर । इजरायलका विभिन्न क्षेत्रमा इरानबाट आक्रमण भएपछि थप क्षतिको विवरण सार्वजनिक भएको छ।
इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) का अनुसार, देशको मध्य भागमा आक्रमण प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोली परिचालन गरिएको छ। “होम फ्रन्ट कमाण्ड” ले सर्वसाधारणलाई ती क्षेत्रहरूमा भीडभाड नगर्न र सुरक्षाका निर्देशनहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
इजरायलको आपतकालीन सेवाले सार्वजनिक गरेका तस्बिरहरूमा भवनहरूमा क्षति पुगेको र भग्नावशेषबाट धुवाँ निस्किरहेको देखिन्छ।
यसअघि आईडीएफले देशको दक्षिणी भागका विभिन्न स्थानहरूमा पनि आक्रमण भएको रिपोर्ट आएको जनाएको थियो। सोमबार रातिदेखि इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रबारे लगातार सतर्कता (अलर्ट) जारी गरिएको छ।
उत्तरी इजरायलमा पनि एउटा वस्तुले प्रहार गरेको पुष्टि भएको छ। विशेषगरी हाइफा नजिकको नेशेर क्षेत्रमा राति कम्तिमा एक भवनमा क्षेप्यास्त्र खसेको जनाइएको छ, जसले उल्लेखनीय क्षति पुर्याएको छ।
सुरक्षा निकायले नागरिकलाई सतर्क रहन, सुरक्षित स्थानमा बस्न र सरकारी निर्देशनहरू पालना गर्न पुनः आग्रह गरेका छन्।






