अमेरिका–इजरायलको इरानमा संयुक्त आक्रमण, राष्ट्रपति सुरक्षित

तेहरान । अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा ठूलो आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमण राष्ट्रपति भवनसहित धेरै महत्वपूर्ण स्थानमा केन्द्रित गरिएको बताइएको छ।
इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार राष्ट्रपति मसूद पेजेश्कियान सुरक्षित रहेका छन्। राष्ट्रपति भवनमा क्षति पुगे पनि कुनै उच्चपदस्थ अधिकारीको मृत्यु भएको पुष्टि भएको छैन।
फार्स समाचार एजेन्सीले तेहरान मात्र नभई राजधानी नजिकको क़ोम र केन्द्रिय शहर इस्फहानसहित अन्य स्थानमा पनि आक्रमण भएको जनाएको छ। रिपोर्ट अनुसार इरानका महत्वपूर्ण विमानस्थलमध्ये एक र पास्तुर क्षेत्र, जहाँ राष्ट्रपति भवन अवस्थित छ, लक्षित गरिएको थियो। उक्त क्षेत्रमा केही सर्वसाधारण घाइते भएका छन् र अस्पतालमा उपचार भइरहेको बताइएको छ।
अल जजीराका पत्रकार एलन फिशरले अल जजीरामार्फत वाशिङ्टन स्रोतलाई उद्धृत गर्दै आक्रमणको उद्देश्य “इरानी शासनलाई नेतृत्वविहीन बनाउने” रहेको बताएका छन्। त्यसमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी, राष्ट्रपति पेजेश्कियान र रिभोलुसनरी गार्डको नेतृत्वलाई निशाना बनाउने योजना रहेको दाबी गरिएको छ।
रिपोर्टहरूका अनुसार आक्रमण ती सम्भावित स्थानमा केन्द्रित थियो जहाँ खामेनी आश्रय लिइरहेका हुन सक्थे। यद्यपि उनी हाल तेहरानमा नरहेको र सुरक्षित स्थानमा सारिएको जनाइएको छ।
इरानको अर्को सरकारी निकट एजेन्सी तस्निम समाचार एजेन्सीले राष्ट्रपति भवन र खामेनीको निवास क्षेत्रमा सात वटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो भौतिक क्षति पुगेको जनाएको छ।
आक्रमणबारे इरान सरकारले औपचारिक वक्तव्य जारी नगरे पनि घटनाले मध्यपूर्वमा तनाव झन् बढ्ने संकेत देखिएको छ। केही देशहरूले यसअघि नै अमेरिकासँग “आक्रमणपछिको योजना”बारे स्पष्टता मागेको बताइएको छ, किनकि इरानको नेतृत्व हटेपछि क्षेत्रीय शक्ति सन्तुलन कता जाने भन्ने अनिश्चितता रहेको विश्लेषण गरिएको छ।