अन्तर्राष्ट्रिय खबर । विद्यार्थी नेतृत्वको आन्दोलनका कारण पूर्वप्रधानमन्त्री शेख हसिना पदच्युत भएको करिब डेढ वर्षपछि बंगलादेशमा बिहीबार आमनिर्वाचन सुरु भएको छ। देशभर बिहान साढे ७ बजेदेखि मतदान प्रारम्भ भएको हो।
निर्वाचन आयोगका अनुसार अपराह्न साढे ४ बजेसम्म मतदानको समय तोकिएको छ। करिब ४२ हजारभन्दा बढी मतदान केन्द्रमार्फत १२ करोडभन्दा बढी मतदाताले प्रतिनिधि चयन गर्दैछन्। कुल मतदातामध्ये पुरुष र महिला संख्या झण्डै बराबर रहेको जनाइएको छ।
यसपटक संसदका ३०० सिटमध्ये २९९ सिटमा निर्वाचन हुँदैछ। एक निर्वाचन क्षेत्रमा उम्मेदवारको निधन भएपछि त्यहाँको मतदान पछि सारिएको छ।
संसदीय निर्वाचनसँगै ‘जुलाई नेशनल चार्टर’ नामक प्रस्तावमा जनमतसंग्रह पनि भइरहेको छ। उक्त प्रस्तावले संविधान संशोधन, राज्यका तीनै अंगबीच शक्ति सन्तुलन, निर्वाचन प्रणाली सुधार, मानवअधिकार संरक्षण तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी विषय समेटेको बताइएको छ।
निर्वाचनमा ५० राजनीतिक दलका एक हजारभन्दा बढी उम्मेदवार र सयौं स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा तारिक रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टी (BNP) र जमात–ए–इस्लामीसहितको गठबन्धनबीच देखिएको छ।
अघिल्लो चरणका आन्दोलनका क्रममा भएको हिंसात्मक घटनामा संलग्नताको आरोप लागेपछि अवामी लिगलाई यस निर्वाचनमा सहभागी हुन अनुमति दिइएको छैन। सन् २०२४ को जुलाईमा सुरु भएको आन्दोलन उग्र बनेपछि तत्कालीन प्रधानमन्त्री हसिना देश छाडेर भारत पुगेकी थिइन्।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सेना, प्रहरी र अन्य सुरक्षा निकायका गरी झण्डै १० लाख सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रत्येक मतदान केन्द्रमा स्थायी सुरक्षा व्यवस्था मिलाइएको छ भने आवश्यक परे हस्तक्षेप गर्न विशेष टोली तयारी अवस्थामा राखिएको अधिकारीहरूले बताएका छन्।
अन्तरिम नेतृत्वले यस निर्वाचनलाई “नयाँ बंगलादेश निर्माणको अवसर” का रूपमा व्याख्या गर्दै नागरिकलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेको छ।






