आफैँलाई गोली लागेको गाउँबाट भण्डारीको चुनावी अभियानको भोलि उद्घाटन

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार रामबहादुर भण्डारीले आफूलाई गोली लागेको ऐतिहासिक स्थानबाटै चुनावी अभियानको औपचारिक उद्घाटन गर्ने भएका छन्।

जनयुद्धका क्रममा नेपाल प्रहरीले गोली हानी हत्या गर्ने प्रयास गरेको नीलकण्ठ नगरपालिका–१० गोलाभञ्ज्याङबाट भण्डारीले माघ २५ गते बिहान ८ बजे विशेष कार्यक्रमका बीच चुनावी अभियान सुरु गर्न लागेको जानकारी दिएका छन्।

२०५५ साल जेठ १८ गते बिहान नेपाल प्रहरीले सञ्चालन गरेको ‘किलोसेरा–२ अपरेसन’ अन्तर्गत भण्डारीलाई आफ्नै घरबाट गिरफ्तार गरिएको थियो। भोलिपल्ट, २०५५ साल जेठ १९ गते साविक ज्यामरुङ–४ गोलाभञ्ज्याङमा उनको बायाँ छातीमा गोली प्रहार गरी मृत घोषणा गरिएको थियो। तर स्थानीयवासीको साहसिक पहलमा उनको उद्धार गरी धादिङ जिल्ला अस्पताल हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएपछि जीवन रक्षा भएको थियो।

“मेरो पहिलो जन्म आगिञ्चोकमा भए पनि दोस्रो जन्म गोलाभञ्ज्याङमै भएको हो,” भण्डारीले सीपीएन प्रेस सेन्टरसँग भने, “त्यही पुनर्जीवन पाएको भूमिबाट मैले मेरो चुनावी अभियान सुरु गर्न लागेको हुँ।”
गोलाभञ्ज्याङका स्थानीयवासीलाई ‘दोस्रो जन्मदाता’को संज्ञा दिँदै उनले जनयुद्धको कठिन समयमा माओवादीलाई सहयोग गर्दागर्दै पनि मानवीयता देखाएर आफूलाई मृत्युको मुखबाट जोगाएको स्मरण गरे। “म हरेक नयाँ योजना र कामको सुरुवात गर्दा गोलाभञ्ज्याङबासीलाई सम्झन्छु,” उनले भने।
चुनावी अभियान उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय नेताहरूको समेत सहभागिता रहने जनाइएको छ।