धादिङ । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य शीघ्र अघि बढाउन दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रामबहादुर भण्डारीले ऐक्यबद्धता जनाउनुभएको छ ।
धादिङबेशीमा जारी दशौँ धादिङ महोत्सवस्थलमा बिहीबार बेलुका उपस्थित भई भण्डारीले हस्ताक्षर गर्दै अभियानप्रति समर्थन जनाउनुभएको हो । बुढिगण्डकी आयोजना आफ्नो प्रमुख चुनावी एजेन्डामध्ये एक भएको उल्लेख गर्दै उहाँले यस्तो महत्वपूर्ण विषयलाई उठान गरेकोमा धादिङ उद्योग वाणिज्य संघप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
हस्ताक्षर अभियानमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले बुढिगण्डकी आयोजना निर्माण, पुनर्बास, मुआब्जा तथा जीविकोपार्जनका सवालमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुभयो । उहाँले आयोजना निर्माण कार्य तत्काल सुरु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भण्डारीले विगतमा मुआब्जा वितरणका क्रममा भएको असमान मूल्य निर्धारणलाई सच्याउँदै न्यायोचित र वैज्ञानिक आधारमा मूल्य निर्धारण गर्न पहल गर्ने बताउनुभयो । साथै, डुबान प्रभावितहरूका लागि पुनर्बास योजनालाई प्रभावकारी ढंगले अघि बढाइने र बाँकी रहेको मुआब्जा तत्काल वितरण गरिने उहाँको भनाइ छ ।
डुबान क्षेत्र वरपर रिङरोडको प्रयोग गरी पर्यटकीय होमस्टे निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख गर्दै भण्डारीले यसले स्थानीयको आयआर्जन बढाउने विश्वास व्यक्त गर्नुभयो । नेकपाका उम्मेद्वार भण्डारीले डुबान प्रभावित परिवारलाई लक्षित गर्दै ‘एक घर, एक रोजगारी’ को अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
बुढिगण्डकी आयोजना धादिङको समृद्धिसँग प्रत्यक्ष जोडिएको भन्दै भण्डारीले जनताको अधिकार सुनिश्चित गर्दै आयोजना अघि बढाइने स्पष्ट पार्नुभयो ।






