प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार तयार पारिएका नमूना मतपत्रहरू सार्वजनिक गरेको छ।
आयोगका अनुसार सातै प्रदेशका सबै निर्वाचन क्षेत्रलाई समेटेर नमूना मतपत्र तयार गरिएको हो। एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एउटै प्रकारको मतपत्र र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि फरक–फरक मतपत्र बनाइएको छ।
निर्वाचन आयोगले यी नमूना मतपत्रहरू मतदाता शिक्षाका उद्देश्यका लागि प्रयोग गरिने जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा मतपत्रको आकार पनि फरक–फरक बनाइएको छ।
उम्मेदवारको संख्या धेरै भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र छापिएको छ। सोही कारण काठमाडौँका केही निर्वाचन क्षेत्रका मतपत्रहरू आकारका हिसाबले सबैभन्दा ठूला देखिएका छन्।
कर्णाली प्रदेशअन्तर्गत सल्ल्यान, डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट र रुकुम पश्चिममा एक–एक वटा मात्र निर्वाचन क्षेत्र रहेका छन्। त्यस्तै, दैलेख र सुर्खेतमा दुई–दुई वटा निर्वाचन क्षेत्र कायम छन्।
यसैगरी सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरामा एक–एक निर्वाचन क्षेत्र छन् भने अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। यी सबै क्षेत्रका लागि छुट्टाछुट्टै नमूना मतपत्र सार्वजनिक गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्रहरू भने छपाइ भइसकेका छन्।