नेकपा रुबीभ्यालीको बैठक सम्पन्न

धादिङ । नेकपा रुबीभ्याली गाउँपालिकाको बैठक पार्टी केन्द्रीय सदस्य तथा धादिङ निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार रामबहादुर भण्डारीको प्रमुख उपस्थितिमा सम्पन्न भएको छ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा नेकपा धादिङ–२ निर्वाचन परिचालन समितिका संयोजक जगत सिंखडा, केन्द्रीय सदस्य दलबहादुर बुर्लाकोटी र केन्द्रीय सदस्य मनराज भण्डारीको विशेष उपस्थिति रहेको थियो।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै गाउँ–गाउँ र टोल–टोलसम्म पुगेर संगठित प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै पार्टीको नयाँ चुनाव चिन्ह ‘तारा’ बारे मतदातालाई व्यापक रूपमा जानकारी गराउने र उत्तरी धादिङबाट बाहिर रहेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न मतदाताको विवरण संकलन गरी सम्पर्कमा ल्याउने विषयमा समेत छलफल भएको थियो।
कार्यक्रममा बोल्दै सहभागी नेताहरूले पार्टीका उम्मेदवारलाई विजयी बनाउन सबै नेता तथा कार्यकर्ता आ–आफ्नो कार्यक्षेत्रमा केन्द्रित भएर सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीको नीति, कार्यक्रम र निर्णयअनुसार एकताबद्ध रूपमा अघि बढ्न आग्रह गरे।
मिम्बा तामाङको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन जीवन तामाङले गरेका थिए।