मानव बेचबिखनको नयाँ स्वरुप : सामाजिक सञ्जालदेखि धार्मिक स्थलसम्म

काठमाडौ । पछिल्लो समय मानव बेचबिखनको स्वरूप झनै जटिल र सूक्ष्म बन्दै गएको पाइएको छ। पहिले सीमित स्थान र चिनिने शैलीमा हुने तस्करी अहिले भने तालिम, रोजगारी, अध्ययन तथा धार्मिक आस्थाको आवरणमा फैलिँदै गएको सरोकारवालाहरूले बताएका छन्।
मोरङको बुढीगंगाबाट केही दिनअघि सामान पुर्‍याउन निस्किएका एक बालक सम्पर्कविहीन बनेपछि प्रहरीले अनुसन्धान थालेको थियो। खोजीका क्रममा उनी भारतको कोलकातासम्म पुर्‍याइसकिएको खुलेको थियो। नेपाल–भारत प्रहरीको समन्वयपछि मात्र उनको उद्धार सम्भव भएको जनाइएको छ।
विराटनगरमा सम्पन्न ‘मानव बेचबिखन नियन्त्रणका लागि प्रतिकार्य सुदृढीकरण’ विषयक दुईदिने सम्मेलनमा नेपाल र भारतका अधिकारी तथा अभियन्ताहरूले तस्करीका बदलिँदा प्रवृत्तिबारे गम्भीर छलफल गरेका छन्। उनीहरूका अनुसार अब मानव बेचबिखन कोठी वा खुला सीमामा मात्र सीमित छैन।
सिप सिकाउने नाममा खुलेका ब्युटी पार्लर, कन्सल्टेन्सी र म्यानपावर कम्पनीहरू तस्करीको माध्यम बन्दै गएको उल्लेख गरिएको छ। यस्ता संस्थामार्फत पासपोर्ट संकलन गरी महिला तथा किशोरीलाई भारत हुँदै तेस्रो मुलुक पुर्‍याइने गरेको आशंका गरिएको छ।
सम्मेलनमा सार्वजनिक गरिएको तथ्यअनुसार भारतमा ठूलो रकम खर्च गरेपछि नेपाली नागरिकका लागि भारतीय पहिचान बनाइने र त्यसै आधारमा उनीहरूलाई तेस्रो मुलुक पठाइने गरिएको छ। ग्रामीण क्षेत्रका बालबालिकालाई धार्मिक शिक्षा दिने बहानामा गुम्बा तथा अन्य आश्रममा लैजाने र त्यहाँ शोषण हुने घटनासमेत देखिएको अभियन्ताहरूले बताएका छन्।
प्रविधिको दुरुपयोग बढेसँगै सामाजिक सञ्जालमार्फत प्रेम जालमा पारेर तस्करी गर्ने प्रवृत्ति पनि बढेको छ। फेसबुक, टिकटकजस्ता माध्यमबाट सम्बन्ध बनाइ पछि सीमा पार गराउने घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ।
पहिले भारतीय सहरका कोठीहरूमा केन्द्रित तस्करी अहिले मसाज सेन्टर, डान्स बार, डिस्को र अर्केस्ट्रासम्म फैलिएको जानकारी दिइएको छ। भारतका विभिन्न राज्यमा नेपाली किशोरीहरूको उपस्थिति बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।
सम्मेलनमा सहभागी अधिकारीहरूले मानव बेचबिखन अब कुनै एक देशको मात्र समस्या नरहेको निष्कर्ष निकालेका छन्। दुई देशबीच सूचनाको आदान–प्रदान, संयुक्त कार्यदल गठन र छिटो उद्धार प्रक्रिया आवश्यक रहेकोमा जोड दिइएको छ।
कार्यक्रमबाट जारी गरिएको विराटनगर घोषणापत्रमा पीडितमैत्री कार्यविधि, कडा निगरानी र सीमा क्षेत्रमा संयुक्त अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।