धादिङ । रुवी भ्याली गाउँपालिका–४, हिन्दुङस्थित हिन्दुङ सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माणका लागि सेचेन करुणा काठमाडौँ, रुवी भ्याली गाउँपालिका र भवन निर्माण उपभोक्ता समिति बीच त्रिपक्षीय सम्झौता (MOU) सम्पन्न भएको छ ।
सम्झौताअनुसार सेचेन करुणा काठमाडौँ प्रथम पक्ष, रुवी भ्याली गाउँपालिका दोस्रो पक्ष तथा हिन्दुङ सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण उपभोक्ता समिति तेस्रो पक्षका रूपमा रहेका छन् । सम्झौतामा भवन निर्माण कार्य २०८२ साल चैत्र ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
योजनाको कुल लागत अनुमान करिब २९ लाख ८२ हजार रुपैयाँ रहेको छ । जसमध्ये सेचेन करुणा काठमाडौँले अधिकतम २४ लाख ९३ हजार २६९ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ भने बाँकी रकम समुदाय तथा स्थानीय तहको तर्फबाट योगदान गरिनेछ ।
रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले स्वास्थ्य पूर्वाधार विकास गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको बताउँदै हिन्दुङ क्षेत्रमा स्थायी स्वास्थ्य भवन निर्माण भएपछि स्थानीय नागरिकले गुणस्तरीय र समयमै स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले परियोजनालाई सफल बनाउन गाउँपालिकाले आवश्यक सबै सहकार्य गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
त्यसैगरी सेचेन करुणा काठमाडौँका प्रतिनिधिले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न संस्था निरन्तर रूपमा सक्रिय रहँदै आएको उल्लेख गर्दै स्थानीय सरकार र समुदायसँगको सहकार्यबाट स्वास्थ्य पूर्वाधार सुदृढ बनाउने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।
सम्झौताअनुसार भवन निर्माणका लागि आवश्यक डिजाइन, लागत अनुमान (इष्टिमेट), प्राविधिक सहयोग, सामग्री खरिद तथा अनुगमन सेचेन करुणा काठमाडौँको जिम्मेवारीमा रहनेछ । निर्माण खर्च उपभोक्ता समितिको बैंक खातामार्फत प्राविधिक सिफारिसका आधारमा भुक्तानी गरिने व्यवस्था गरिएको छ ।
भवन निर्माण सम्पन्न भएपछि हिन्दुङ तथा आसपासका क्षेत्रका बासिन्दाले आफ्नै वडामै आधारभूत स्वास्थ्य सेवा सहज, व्यवस्थित र गुणस्तरीय रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।







