ट्रम्पले बीबीसीविरुद्ध मानहानि मुद्दा दायर

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। २०२१ जनवरी ६ मा दिएको आफ्नो भाषणलाई पानोरामा डकुमेन्ट्रीमार्फत गलत सन्देश जाने गरी सम्पादन गरिएको आरोप लगाउँदै उनले फ्लोरिडा अदालतमा मुद्दा हालेका हुन्।

ट्रम्पले बीबीसीले आफ्नो भाषणलाई जानाजानी, दुर्भावनापूर्ण र भ्रामक रूपमा परिवर्तन गरेर आफ्नो छविमा गम्भीर क्षति पुर्‍याएको दाबी गरेका छन्। सोही आधारमा उनले अर्बौँ डलर क्षतिपूर्ति माग गरेका छन्।

यस विषयमा बीबीसीले गत नोभेम्बरमा ट्रम्पसँग माफी मागे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको जनाइएको छ। ट्रम्पको कानुनी टोलीले बीबीसीको कार्य अमेरिकी तथा फ्लोरिडाको व्यापार अभ्याससम्बन्धी कानुनविरुद्ध रहेको दाबी गरेको छ।

बीबीसीले हालसम्म उक्त मुद्दाबारे औपचारिक प्रतिक्रिया जनाएको छैन। ट्रम्पले बीबीसीविरुद्ध थप कानुनी कारबाहीको तयारीसमेत गरिरहेको बताइएको छ।