एमालेको ११ औँ महाधिवेशन आजदेखि, भक्तपुरमा भव्य उद्घाटन तयारी

काठमाडौ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आज शनिबारदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा गरिनेछ।

पार्टीका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागीको उपस्थिति रहने अनुमान गरिएको छ। कार्यक्रममा राष्ट्रिय एकता र सांस्कृतिक विविधता झल्काउने २०० भन्दा बढी झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ। साथै, विभिन्न देशका कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय पार्टी प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको एमालेले जनाएको छ।

महाधिवेशन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न २४ जनसंगठनको सहभागितामा पाँच सयभन्दा बढी स्वयंसेवक ड्रेसकोडमा परिचालन गरिनेछ भने करिब १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गर्ने तयारी गरिएको छ।

लिच्छविकालीन ऐतिहासिक चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूप दिई उपत्यकाका प्रमुख धार्मिक स्थल झल्किने गरी भव्य मञ्च निर्माण गरिएको छ। सहभागीले स्पष्ट रूपमा कार्यक्रम हेर्न र सुन्न सकून् भन्नका लागि मञ्चको दुवैतर्फ ठूला एलईडी स्क्रिन तथा उच्च क्षमताका साउन्ड सिस्टम जडान गरिएको छ।

उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटको प्रयोगमार्फत महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। ११औँ महाधिवेशनको प्रतीकस्वरूप ११ वटा झण्डामध्ये १० झण्डा प्रारम्भमै र एउटा झण्डा उद्घाटनसँगै फहराइनेछ।

उद्घाटनअघि गठ्ठाघर र जगातीबाट र्‍याली निकालिनेछ भने सहभागी सवारी साधनका लागि विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
महाधिवेशनको बन्दसत्र मंसिर २८ र २९ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ।