विश्व घटना । विश्वभर पत्रकारितामाथि हुने आक्रमणबारे अध्ययन गर्ने संस्था रिपोर्टर्स विथआउट बॉर्डर्स (RSF) ले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार यस वर्ष हत्या गरिएका पत्रकारमध्ये ठूलो हिस्सा इजरायली सेनाको गाजा कारबाहीसँग सम्बन्धित रहेको छ।
RSF का अनुसार सन् २०२४ मा विश्वभर ६७ पत्रकारले ज्यान गुमाए, जसमध्ये २९ जनाको मृत्यु गाजामा इजरायली अभियानका क्रममा भएको पुष्टि गरिएको छ। गाजा युद्ध २०२३ को अक्टोबरमा सुरु भएदेखि हालसम्म करिब २२० पत्रकार मारिएका छन्, जसले इजरायललाई पत्रकारहरूको लागि विश्वकै सबैभन्दा घातक देशको सूचीमा लगातार राखिरहेको छ।
संस्थाले उल्लेख गरेको एक सबैभन्दा मार्मिक घटना ‘डबल–ट्याप’ भनिने दोहोरो विस्फोटयुक्त आक्रमण थियो, जसमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एपीसँग आवद्ध दुई योगदानकर्ता सहित पाँच पत्रकारको मृत्यु भएको थियो।
अर्कोतर्फ, विदेशी पत्रकारहरूको लागि गाजामा प्रवेश अझै कठिन रहेको र इस्रायली सुरक्षातन्त्रको नियन्त्रणका कारण स्वतन्त्र रिपोर्टिङ बाधित भएको RSF ले बताएको छ।
मीडिया स्वतन्त्रतामाथि बढ्दो जोखिम देखाउँदै RSF का सम्पादकीय निर्देशक एनी बोकान्डेले, “यी मृत्युहरू आकस्मिक होइनन्, जानाजानी सूचना रोक्न पत्रकारलाई लक्ष्य बनाइन्छ,” भन्ने टिप्पणी गरे।
RSF ले पत्रकारहरू जेलिएका तथ्यांक पनि सार्वजनिक गरेको छ।
सन् २०२५ डिसेम्बर १ सम्म चीन (१२१), रुस (४८) र म्यानमार (४७) पत्रकार हिरासतका कारण सबैभन्दा दमनकारी देशका रूपमा चिनिएका छन्। दुनियाभर हाल ५०३ पत्रकार विभिन्न देशमा थुनामा रहेको विवरणमा उल्लेख छ।
अरू निकायहरूले फरक आधारमा तथ्यांक संकलन गर्ने भएकाले संख्या केही फरक हुन सक्छ। उदाहरणका लागि युनेस्कोले यही वर्ष ९१ पत्रकारको हत्या भएको जनाएको छ।






