काठमाडौं — त्रिभुवन राजपथ अन्तरगत पर्ने नागढुङ्गा–नौविसे–मलेखु सडक खण्ड आगामी एक सातासम्म दैनिक केही घण्टा बन्द रहने भएको छ। सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम तीव्र गतिमा अघि बढाउन यो व्यवस्था गरिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र धादिङसहित नागढुङ्गा–मुग्लिङ सडक आयोजनाले संयुक्त रूपमा सूचना जारी गर्दै मंसिर २४ देखि पुस १ गतेसम्म हरेक दिन बिहान १०ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारी आवागमन रोक्ने जनाएको हो।
सूचना अनुसार नागढुंगा–पिपलामोड खण्ड साँघुरो भएकाले हेभी उपकरण चलाउन सहज बनाउन अस्थायी रूपमा यातायात बन्द गरिनेछ।
यस्तै, गल्छी–गजुरी खण्डको पोखरेभिर क्षेत्रमा चट्टान काटेर सडक फराकिलो बनाउने काम भइरहेकाले पनि सवारी चलाउन नदिइने उल्लेख गरिएको छ।
वैकल्पिक मार्ग
बन्द अवधिमा साना तथा मध्यम सवारीहरूले यी रुट प्रयोग गर्न सक्नेछन्—
सितापाइला – भिमढुङ्गा – रामकोट – धार्के
सामाखुसी – टोखा – छहरे – त्रिशुली – गल्छी
जरेखेतको त्रिशुली पुल भएर घाटबेशीसम्मको मार्ग
एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शवबाहन जस्ता अत्यावश्यकवाहनलाई भने ट्राफिक प्रहरीले सहज आवतजावत गराइने बताइएको छ।
आयोजनाले तोकिएको समय बाहिर मात्र यात्रा गर्न, र प्रतिबन्धित समयमा लेन अनुशासन कडाइका साथ पालना गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ।






