काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय थप नगर्ने निर्णय गरेको छ। आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी समय थपेमा आगामी निर्वाचनको कार्यतालिका प्रभावित हुने भन्दै सो अवधि स्थिर राख्ने निर्णयबारे जानकारी गराएका थिए।
आयोगले समय नथपाएपछि अब राष्ट्रिय परिचय पत्र बनाएका नागरिकहरूलाई पुनः बायोमेट्रिक दिनुपर्ने छैन। राष्ट्रिय पञ्जीकरण विभागले संकलन गरेको जैविक तथ्यांक (biometric data) आयोगलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार, आगामी मतदाता सूचीकृत गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्र नम्बर भएका तर मतदाता सूचीमा नाम नपरेका नागरिकको विवरण पनि स्वचालित रूपमा सूचीकृत हुने व्यवस्था गरिएको छ।
राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले निर्वाचन आयोगलाई आवश्यक सबै बायोमेट्रिक विवरण उपलब्ध गराउन तयार रहेको जानकारी दिएका छन्।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, यो प्रणालीले विशेष गरी निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहजता प्रदान गर्नेछ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त दिलीप भण्डारीले निर्वाचन तयारीका ६० प्रतिशतभन्दा बढी काम सकिएको र आउँदो फागुन २१ गते निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, हालसम्म कुनै पनि दलले निर्वाचनमा भाग नलिने अडान नलिएकोले निर्वाचनको वातावरण सकारात्मक बन्दै गएको छ।
यसैबीच, आयोगले निर्वाचन आचारसंहिता मस्यौदा सबै दललाई सुझावका लागि पठाइसकेको र छिट्टै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।




























