काठमाडौं । निर्माण सामग्री उत्पादन गर्ने एसवाई प्यानल लिमिटेड ले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री खुला गरेको छ।
कम्पनीले यस पटक कुल ४० लाख ७६ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणमा जारी गरेको हो। तीमध्ये २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषका लागि र १ लाख ४९ हजार १२७ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो शेयर प्रणालीमार्फत गर्न सकिनेछ।
आईपीओ आवेदन छिटोमा असोज २९ गते र ढिलोमा कात्तिक ९ गतेसम्म खुला रहनेछ।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेड ले गरेको छ।
यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा सेयर बिक्री गरिसकेको थियो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीलाई ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर निष्कासनको अनुमति दिइएको थियो।




























