धादिङ । उत्तरी धादिङको रुवीभ्याली ४ मा निर्माणाधीन जलशक्ति हाइड्रोपावरको सडक निर्माण कार्यका क्रममा बिहीबार भएको दुर्घटनामा डोजर चालक ३६ वर्षीय भीमबहादुर नगरकोटीको मृत्यु भएको छ ।
गाउँ प्रहरी सिमोन तामाङले जनाए अनुसार, बिहीबार बिहानै ब्लाष्टिङ गरिएको र सोही स्थानको आसपास स्काभेटर चलाउने क्रममा माथिबाट पहिरो खस्दा डोजर सहित चालक तातोपानी खोलामा खसेको थियो। दुर्घटनामा परेका चालक प्युठान भिमखर्क गाउँपालिका–६ का हुन् ।
बिहीबारदेखि नै खोजी कार्य सुरु गरिएको भए पनि शव आज (शुक्रबार) मात्र फेला परेको गाउँ प्रहरी तामाङले जानकारी दिएको छ। शव निकाल्ने कार्यमा रुवीभ्यालीकै स्थानीय, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गाउँ प्रहरीको टोलीले सहकार्य गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























