पाकिस्तान–अफगानिस्तान सीमामा दोहोरो भिडन्त, तालिबानले तीन चौकी कब्जा गरेको दाबी

अन्तर्राष्ट्रिय खबर । पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्रमा शनिबार राति भीषण गोलीबारी भएको छ। अफगान तालिबान र पाकिस्तानी सुरक्षाबलबीच भएको उक्त भिडन्तमा दुबै पक्षले एकअर्कामाथि आक्रमण गरेको दाबी गरेका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार, पाकिस्तानले केही दिनअघि काबुलमा गरेको हवाई आक्रमणको प्रतिकारस्वरूप तालिबानले सीमाक्षेत्रका पाकिस्तानी चौकीहरूमा आक्रमण गरेको हो। मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवारजमीले यो कारबाही ‘बदला स्वरूपको प्रतिक्रिया’ भएको बताएका छन्।

तालिबान पक्षले तीनवटा पाकिस्तानी चौकी कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानले अफगानिस्तानतर्फका केही पोस्टहरू नष्ट गरेको जनाएको छ। सीमामा तोप र हतियार प्रयोग भएको बताइएको छ।

पाकिस्तानी अधिकारीहरूले अफगान पक्षबाट ‘अप्रत्याशित गोलीबारी’ भएको भन्दै ‘पूर्ण शक्ति’का साथ जवाफ दिएको बताएका छन्। भिडन्त सीमाको कम्तीमा आधा दर्जन स्थानमा फैलिएको बताइएको छ।

दुबै देशका अधिकारीहरूले भिडन्त कहिलेसम्म चल्ने भन्नेबारे आधिकारिक जानकारी दिएका छैनन्। पाकिस्तान–अफगानिस्तान सीमा करिब २६ सय किलोमिटर लामो छ, जसमा पछिल्ला वर्षहरूमा बारम्बार झडप भइरहेका छन्।

इस्लामाबादले अफगान तालिबान प्रशासनमाथि पाकिस्तानी तालिबानका लडाकुहरूलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ, भने तालिबानले आफ्नो भूमि अन्य देशविरुद्ध प्रयोग हुन नदिएको जनाएको छ।