रुवीभ्यालीको अबरुद्ध मोबाइल टावर तत्काल मर्मत गर्न माओवादी केन्द्रको ध्यानाकर्षण

धादिङ । रुवीभ्याली गाउँपालिकामा लामो समयदेखि मोबाइल टावरमा समस्या देखिँदै आएको छ। पछिल्ला तीन दिनदेखि टावर पूर्णरूपमा अबरुद्ध हुँदा स्थानीयवासीहरू ठूलो असुविधामा परेका छन्।

चाडपर्व नजिकिँदै गर्दा टाढा रहेका आफन्तहरूसँग सम्पर्क गर्न, आपतकालीन अवस्थामा फोन गर्न तथा दैनिक संवादमै समेत समस्या भएपछि स्थानीयवासीहरू आक्रोशित भएका छन्।

यसै सन्दर्भमा नेकपा माओवादी केन्द्र रुवीभ्याली गाउँ कमिटीले आइतबार नेपाल दूरसञ्चार प्राधिकरण, जिल्ला शाखा धादिङलाई ध्यानाकर्षण पत्र बुझाएको छ। तत्काल टावर मर्मत र दीर्घकालीन समाधानको माग गर्दै ध्यानाकर्षण गराइएको हो।

जिल्ला शाखाका प्रमुख विकास महर्जनले भोलि नै आवश्यक सामग्रीसहित नुवाकोटमा रहेका प्राविधिकहरूलाई रुवीभ्याली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार मर्मतका लागि आवश्यक सामान आजै काठमाडौंबाट ल्याइँदैछ।

स्थायी समाधानका लागि समेत पहल गर्ने महर्जनले बताउनुभयो। “ब्याट्री परिवर्तन गर्ने वा विद्युत् आपूर्ति गर्ने दुवै विकल्पलाई अध्ययन गरेर स्थायी समाधान खोजिन्छ,” उहाँले भन्नुभयो।