मिसेस् मङ्गोल नेपाल २०२५ को ताज टिनालाई

काठमाडौँ । राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न ११औँ संस्करणको मिसेस् मङ्गोल नेपाल २०२५ को ताज टिना आले कवर मगरले जितेकी छन्। निर्णायकको अन्तिम प्रश्नमा प्रभावशाली जवाफ दिएपछि उनले प्रतियोगिताको विजेता उपाधि प्राप्त गरेकी हुन्।

ताजसँगै उनले सन् २०२६ मा लन्डनमा आयोजना हुने एनएफइए अवार्ड का लागि इन्ट्री प्याकेज पनि हात पारेकी छन्। सो प्रतियोगितामा संगीता राना मगर प्रथम उपविजेता र शान्ति गुरुङ दोस्रो उपविजेता बने।

हिमालयन मुभिजको आयोजनामा भएको प्रतियोगितामा मंगोल समुदायकी विवाहित महिलाहरूले आफ्नो सांस्कृतिक पहिचान, प्रतिभा र आत्मविश्वास प्रस्तुत गरेका थिए। फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा रहेका प्रतियोगीहरूले व्यक्तित्व विकास, नृत्य, सांस्कृतिक पोशाक र आधुनिक गाउनमार्फत आफ्नो प्रस्तुति दिएका थिए।

सांस्कृतिक वातावरणलाई झल्काउने यस कार्यक्रममा पप गायक धिरज राईले प्रस्तुति दिएका थिए भने अधिकांश दर्शक पनि परम्परागत भेषभूषामा उपस्थित भएका थिए।

सो कार्यक्रममा विभिन्न उपाधि पनि प्रदान गरिएका थिए। मोस्ट इन्टिलिजेन्ट उपाधि टिनाले नै जितिन् भने मोस्ट कन्फिडेन्ट संगीता राना मगर, मोस्ट प्यासोनेट शान्ति गुरुङ, मोस्ट स्मार्ट लक्षिता गुरुङलगायत विभिन्न शीर्षक अन्य प्रतिस्पर्धीहरूले हात पारे।

निर्णायक मण्डलमा अभिनेता रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस् मङ्गोल नेपाल २०२२ सम्झना तामाङसहितका व्यक्तित्वहरू रहेका थिए। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य लोपोन्मुख कला, भाषा र भेषभूषाको संरक्षण गर्दै मंगोलियन समुदायकी महिलाहरूको क्षमता र प्रतिभालाई राष्ट्रिय स्तरमा प्रस्तुत गर्नु हो।