रेडक्रस धादिङ द्वारा अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा धार्के बजारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“जान्न पाउने अधिकार, उनीहरू बिर्सिएका छैनन्, परिवारहरूले जवाफ पाउनै पर्छ, खोजी कार्य जारी छ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय राज सुबेदी प्रमुख अतिथि रहनुभएको थियो। जिल्ला रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि बेपत्ता परिवार समाजका केन्द्रीय सचिवालय सदस्य राम बहादुर भण्डारी, धुनिबेसी उपशाखाका पदाधिकारी, बेपत्ता परिवारजनहरू लगायतको उपस्थिति थियो।

धादिङ जिल्लाका २३ घर परिवारका २४ जना अझै बेपत्ता रहेको तथ्यांक कार्यक्रममा सार्वजनिक गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने सम्पूर्ण सहभागीप्रति धन्यवाद व्यक्त गरिएको छ।