धादिङ । हरितालिका तीजको अवसर पारेर लायन्स क्लब अफ काठमाण्डौ सूर्यमुखीले धादिङको नीलकण्ठ नगरपालिका–१२ मा अवस्थित पशुपति मन्दिर परिसरमा विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ। क्लबले हिन्दू महिलाहरूको चाड तीजमा मन्दिरमा आउने भक्तालुको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, शुद्ध खानेपानी वितरण, तथा सार्वजनिक सरसफाइ कार्यक्रम संचालन गरेको हो।
स्वास्थ्य परीक्षण कार्यक्रम धादिङ अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न गरिएको थियो। परीक्षणमा १०५ जनाको रक्तचाप, ज्वरो, अक्सिजन स्तर, तौल, मुटुको धड्कन जस्ता सामान्य स्वास्थ्य जाँच तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। डा. अशोक छत्कुली र नर्सिङ प्रमुख एस्तर तामाङको टोलीले सेवा दिएको जानकारी प्राप्त भएको छ।
स्वास्थ्य परीक्षणपछि आवश्यक बिरामीहरूलाई प्राथमिक औषधि तथा जीवनजल समेत वितरण गरिएको थियो।
त्यसैगरी, Rubi Beverage Pvt. Ltd. को सहकार्यमा करिब १,००० जना भक्तालुहरूलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराइएको थियो।
कार्यक्रमको अन्त्यमा क्लबका पदाधिकारीहरू, पशुपति मन्दिर व्यवस्थापन समिति तथा स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागितामा मन्दिर परिसर सरसफाइ अभियान समेत सञ्चालन गरिएको थियो।
उक्त सेवा कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय अगुवा र स्वयंसेवकहरूको सक्रिय उपस्थिति रहेको थियो।




























