धादिङ । सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले दुई सञ्चारमाध्यमका प्रधान सम्पादकहरूलाई धम्की दिएको आरोप लागेको छ। गाउँपालिकाको शिक्षक सरुवा तथा विद्यालय समायोजनसम्बन्धी निर्णयमा आधारित समाचार प्रकाशित भएपछि अध्यक्ष खतिवडा प्रहरी सहित सम्बन्धित सञ्चार कार्यालयमा पुगेका थिए।
धादिङ न्युज डटकमका सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका सम्पादक अनिल नेपालीलाई डरत्रास देखाउने प्रयास गरिएको नेपाल पत्रकार महासंघ धादिङ शाखाले जनाएको छ। महासंघले विज्ञप्ति जारी गर्दै यो घटना प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको बताएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले कानुनी बाटो नअपनाई धम्की दिनु निन्दनीय कार्य भएको स्पष्ट गरेका छन्। महासंघले घटनाको भर्त्सना गर्दै दोषीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ।




