अन्तर्राष्ट्रिय खबर । फिनल्याण्डको संसद भवनभित्र एक जना सांसद मृत अवस्थामा फेला परेका छन्। मृतक ३० वर्षीय इमेली पेल्टोनन हुन्, जो सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सदस्य थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रारम्भिक अनुमानमा उनले आत्महत्या गरेको देखिन्छ। तर घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
पेल्टोननले केही समयअघि सामाजिक सञ्जालमार्फत आफू दीर्घ रोगले पीडित रहेको बताएका थिए। स्वास्थ्य समस्या गम्भीर बनेपछि उनले संसदीय कामबाट अवकाश पनि लिएका थिए।
सन् २०२३ मा चुनाव जितेर संसद प्रवेश गरेका उनी करिब ५,७४७ मत ल्याएर विजयी भएका थिए। १८ वर्षको उमेरमै नगर परिषद् सदस्य र २२ वर्षको उमेरमा नगर बोर्ड अध्यक्ष बनेका उनी आफ्नै शहरका सबैभन्दा कान्छा जनप्रतिनिधि मानिन्थे।
उनको निधनपछि प्रधानमन्त्रीसहित विभिन्न नेताहरूले दुःख व्यक्त गरेका छन्। संसद भवनमा मौन धारण गरिएको छ भने सबै आधिकारिक राजनीतिक कार्यक्रम स्थगित गरिएको छ।






