त्रिपुरासुन्दरी गाउँपालिकामा विद्युत् आपूर्तिमा समस्या, उपाध्यक्ष धरेलद्वारा ध्यानाकर्षण पेश

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकामा लामो समयदेखि नियमित र भरपर्दो विद्युत् आपूर्तिमा समस्या देखिएको भन्दै गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले नेपाल विद्युत् प्राधिकरणलाई ध्यानाकर्षण गराएका छन्।

नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणाली अन्तर्गत नेशनल ग्रिड लाइनबाट एक दशकभन्दा बढी समयदेखि गाउँपालिकाका सबै वडाहरूमा विद्युत् आपूर्ति भइआएको भए पनि पछिल्लो समय दैनिक रूपमा विद्युत् प्रवाहमा समस्या आइरहेको धरेलले बताएका छन्। विशेषगरी कम भोल्टेज र कम करेन्ट प्रवाहका कारण सर्वसाधारणको थुप्रै विद्युतीय उपकरणहरू जलेको र क्षति पुगेको जनाइएको छ।

“वडा नं. ४ मा रहेको आँखुखोला जलविद्युत् आयोजनाले पनि विद्युत् उत्पादन गर्दै आएको भए तापनि, नियमित र स्थिर आपूर्ति हुन नसक्दा नागरिकले दैनिक रूपमा कठिनाइ भोग्नुपरेको छ,” उपाध्यक्ष धरेलद्वारा पेस गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।

गर्मीको मौसममा साझ र बिहान विद्युतको अत्यधिक आवश्यकता हुने समयमा समेत सेवा अवरुद्ध हुनु र कमजोर प्रवाहले समस्या थपिएको गाउँपालिकाले जनाएको छ।

धरेलले नेपाल विद्युत् प्राधिकरण, धादिङ शाखासँग तत्काल गम्भीर ध्यान दिनुका साथै नियमित, भरपर्दो र क्षति नहुने किसिमको विद्युत् प्रवाह सुनिश्चित गर्न आग्रह गरेका छन्।

गाउँपालिकाले यसअघि पनि विभिन्न समयमा विद्युत् आपूर्तिको अवस्था सुधार गर्न माग गर्दै आएको थियो।