काठमाडौं, साउन १६ – नेपालको पर्वतीय पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताएका ठाकुरराज पाण्डेले नेपाल पर्वतारोहण संघ (NMA) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
विगत ३२ वर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डे फस्ट इनभाइरोमेन्टल ट्रेकिङ कम्पनीका सञ्चालकसमेत हुन्। संघको वर्तमान वरिष्ठ उपाध्यक्ष एवं पूर्व महासचिवको अनुभव बोकेका पाण्डे सामाजिक कार्यमा पनि सक्रिय रहेका छन्। उनी पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको संयोजकको भूमिकामा समेत काम गरिसकेका छन्।
पर्वतीय पर्यटनको समृद्ध विकासका लागि आफूले निर्माण गरेका विभिन्न योजनासहित मैदानमा उत्रिएको जानकारी दिँदै उनले दर्जनौंलाई रोजगारी सिर्जना गरेको स्मरण गराए। पाण्डेले पेशागत मर्यादा, कामदारको हक–हित तथा आरोहण व्यवसायसँग जोडिएका सबैको हितमा आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।
पाण्डेले सार्वजनिक गरेका ११ मुख्य चुनावी एजेण्डा:
१. संघलाई पर्यटन ऐनभित्र स्थायी रूपमा समावेश गराउने।
२. आरोही कल्याणकारी कोषलाई पर्यटन ऐनमा नै समेट्ने पहल।
३. विदेश भ्रमण संघको बजेटबाट नगरी व्यक्तिगत खर्चमा जाने।
४. विदेश भ्रमणको बजेट कोषमा राखी आरोहीका सन्तानको शिक्षामा खर्च गर्ने।
५. आवश्यक मात्र कर्मचारी राखी संघमा अनावश्यक आर्थिक भार नपार्ने।
६. तालिममार्फत दक्ष जनशक्ति उत्पादनमा प्राथमिकता दिने।
७. सरकारसँग समन्वय गरी बजेट विनियोजनमा प्रभावकारी भूमिका निर्वाह गर्ने।
८. जलवायु परिवर्तनबाट हिमाली क्षेत्र प्रभावित नहोस भनी राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा सक्रियता देखाउने।
९. संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सबै जिल्लामा पर्वतीय पर्यटन विस्तार गर्ने।
१०. नयाँ हिमालहरू खोल्न पहल गर्दै आरोहीहरूको रोजगारी बढाउने।
११. पोखरास्थित अन्तर्राष्ट्रिय संग्रहालयको स्तरोन्नति, तालिम केन्द्र र ककनीस्थित जग्गामा पर्वतीय हिल स्टेशन तथा आरोही आरोग्य भवनको विकास गर्ने।
महिलाको सम्मान र अफ सिजन रोजगारीमा जोड
पाण्डेले महिलाहरूको आरोहण क्षेत्रमा योगदानलाई सम्मान गर्दै उनीहरूको पहिचानलाई अझ अगाडि बढाउने बताएका छन्। साथै, अफ सिजनमा शैक्षिक संस्थाहरूमा पर्वतीय पर्यटन सम्बन्धी कक्षा सञ्चालन गरी पेशासँग जोडिएका व्यक्तिहरूलाई रोजगारी उपलब्ध गराउने योजना पनि सार्वजनिक गरेका छन्।
नेपाल पर्वतारोहण संघको आगामी निर्वाचन भदौ ७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने तय भएको छ। अध्यक्ष पदका लागि ठाकुरराज पाण्डेसहित चार जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।






