सिङ्ल्हामा साउन २३ र २४ गते चौथो म्हेन्दोमाया गीत प्रतियोगिता हुँदै

धादिङ । उत्तरी धादिङमा प्रचलित तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा, रहनसहन र परम्परा झल्काउने म्हेन्दोमाया (फुलमाया) दोहोरी गीतको चौथो संस्करणको प्रतियोगिता आगामी साउन २३ र २४ गते हुने भएको छ।

धादिङ, नुवाकोट र रसुवाको संगमस्थल तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको सिङ्ल्हा म्हाने क्षेत्रमा जनैपूर्णिमाको अवसरमा लाग्ने झाँक्री मेलाका साथमा जम्बुलिङ फिल्म्स प्रा.लि. को आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सहभागी हुन समूह दर्ता शुल्क रु ४,००० तोकिएको छ। पुरस्कारहरू यस प्रकार छन्:

प्रथम पुरस्कार: रु २५,००० नगद र प्रमाणपत्र

द्वितीय पुरस्कार: रु १५,००० नगद र प्रमाणपत्र

तृतीय पुरस्कार: रु १०,००० नगद र प्रमाणपत्र

कार्यक्रमको पहिलो चरण नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका, खर्क रुप्चेत मा आयोजना गरिनेछ। प्रतियोगिताको उद्देश्य भनेको तामाङ समुदायभित्र लुकेका कला, संस्कृति र प्रतिभाको खोजी गर्दै तिनलाई विश्वसामु चिनाउने रहेको आयोजकको भनाइ छ।

यसअघि यस्ता कार्यक्रमहरू म्हेन्दोमाया कलाकार समूहको संयोजनमा हुँदै आएका थिए भने यस पटक जम्बुलिङ फिल्म्स परिवारले आयोजनाको जिम्मा लिएको हो।

धार्मिक स्थल सिङ्ल्हा म्हानेको महत्त्व

सिङ्ल्हा म्हानेलाई तामाङ समुदायले अत्यन्तै पवित्र धार्मिक स्थल मानेका छन्। स्थानीय जनविश्वास अनुसार यहाँ दर्शन गर्दा, भाकल गर्दा वा पूजा गरेमा रोग, सन्तानहीनता तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। जनैपूर्णिमाको दिन यहाँ झाँक्रीहरू, लामाहरू र हजारौं श्रद्धालुहरूको भीड लाग्ने गर्दछ।

तर यति महत्वपूर्ण स्थलको संरक्षण र प्रवर्द्धनमा अहिलेसम्म स्थानीय, प्रदेश वा संघीय सरकारबाट कुनै उल्लेखनीय सहयोग नपाइएको आयोजकले गुनासो गरेका छन्। उनीहरूका अनुसार अघिल्लो वर्षहरूमा समेत आफ्नै लगानीमा कार्यक्रम आयोजना गरिँदै आएको हो।

आमन्त्रण

आयोजक मूल समिति परिवारले यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कला–सङ्गीतप्रेमी, संस्कृति–प्रेमीहरू, तामाङ समुदायका व्यक्तित्वहरू, सम्पूर्ण नागरिक तथा सम्बन्धित पक्षहरूलाई सहभागी भइ साथ र समर्थन गरिदिन अनुरोध गरेको छ।